काठमाडौं–चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई ४– १ गोलअन्तरले पराजित गरेको हो।
चेल्सीलाई जिताउन टमी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नरले गोल गरे। शेफिल्डका लागि भने डेविड म्याकगोल्ड्रिकले गोल फर्काए। सुरुवातमै गोल खाएको चेल्सीले त्यो नतिजालाई उल्टाउँदै चार गोल गर्न सफल भयो।
खेलको नवौं मिनेटमा डेविडले गोल गर्दै शेफिल्डलाई सुरुवाती अग्रता दिलाए। तर यो अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको २३ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई १–१ गोलको स्थितिमा ल्याए। बेन चिलवेलले खेलको ३४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई पहिलो हाफसम्म २–१ गोलको अग्रता दिलाए। खेलको ७७ औं मिनेटमा सिल्भाले गोल गर्दा ९० औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई ४–१ गोलको जित दिलाए।
यो जितसँगै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीको आठ खेलबाट १५ अंक हुँदा पराजित शेफिल्ड भने लिगको पुछारमा छ।
त्यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै एभर्टनविरुद्ध जित निकालेको हो। अन्य खेलमा क्रिस्टल प्यालेसले लिड्सलाई ४–१ गोलले पराजित गर्दा वेष्ट हामले फुलहामलाई १–० गोलले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।