काठमाडौं–स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे। ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल थपे। बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काए ।
क्याम्प नाउमा डेम्बेलेले २२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बेटिसका गोलकिपर क्लाउडियो ब्राभोले रोकेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा एन्टोनियोले गोल गर्दै बेटिसलाई १–१ गोलको बराबरीमा फर्काए। खेलको ४९ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। खेलको ६१ औं मिनेटमा मान्डीले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटियो।
आफ्नो पेनाल्टी क्षेत्रमा हातले बल रोकेपछि मान्डीले रातो कार्ड पाएका थिए। र, बार्सिलोनाले पेनाल्टी पाएको थियो।
जसमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेस्सीले सहजै गोल गर्दै टोलीको अग्रता ३–१ को बनाए। मेस्सी अन्सु फातीको स्थानमा ४६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए। खेलको ७४ औं मिनेटमा बेटिसका मोरानले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए।
तर, ८२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–२ को अग्रता दिलाए। त्यसपछि खेलको ९० औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ५(२ को जित दिलाए। जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा समेत उक्लिएको छ ।
बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।