काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘नक्कली आमा’को संज्ञा दिएका छन्। पार्टी फुटाउने वा आधा अधिकार माग्ने काम उनले गरिरहेको बताउँदै यस्तो संज्ञा दिएका हुन्।
उनले कार्यक्रममा लघुकथामार्फत् त्यसलाई प्रष्ट्याएका थिए। ओलीको कथा यस्तो छ – दुई आमाबीच एउटा बच्चाका विषयमा झगडा भयो। आ–आफ्नो भन्ने दाबी नछाडेपछि मुद्दा अदालत पुग्यो। अदालतमा दुवै आमालाई सोध्ने क्रममा एउटीले भनी- बरु यसलाई चिरौं। तर, मेरो हकको आधा बच्चा चाहिन्छ। अर्कीले भनी- भैगो बच्चालाई चिरेर नमारौं। उसको हक भयो। मैले छाडिदिएँ। यसले न्यायधीशले सही आमा पहिचान गरेको उनको अर्थ थियो।
हाल पार्टी फुटाउने विषयमा पनि आफू होइन, अन्य नेता नै सक्रिय भएको उनको भनाइ थियो। पचास वर्षअघि आफैंले पार्टी एकताको अभियान सुरु गरेर यहाँसम्म ल्याएको उनको दाबी छ। उनले भने, ‘मैले नै नेतृत्व गरेर देशमा दुई तिहाइको स्थितिको बनाएको छु। यो मैले नै बनाएको हो। मलाई पार्टी फुटाउनु छैन।’
उनले प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई पार्टीमा फाटो ल्याउनु अनुचित काम गरेको आरोप लगाएका छन्। उनले पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डको नेतृत्वमा बसेको बैठकलाई अनुचित भनेका छन्। उनले भने, ‘गुटगत भेला गर्ने अनि निर्णय बोकेर पार्टी कमिटीमा आउने तरिका बिलकुलै उचित होइन। त्यो तरिका उचित होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।