जनकपुरधाम- दीपावली र छठ पर्व नजिकिएसँगै महोत्तरीसहित मिथिला क्षेत्र उमङ्गित छ। कृष्णपक्षमा मनाइने उज्यालोको पर्व दीपावलीको तयारीमा प्रदेश नं २ मा पर्ने सम्पूर्ण मिथिला क्षेत्र अहिले पर्वमय बनेको हो।
दीपावली पर्वको पक्ष (कात्तिक कृष्णपक्ष) शुरु भएसँगै मिथिला क्षेत्रका सबैजसो घर रङ्गरोगन गरेर चम्क्याइँदा छन्। के धनी, के गरिब सबै आफ्नो सावगासअनुसार रमाइलो पर्व दीपावलीको तयारीमा जुटेका देखिँदो छ।
मिथिलामा कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि दीपावली पर्व शुरु हुन्छ। धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिने यस पर्वको पहिलो दिन ‘धनतेरस’ मनाउने मैथिल परम्परा छ। यस दिन धातुका नयाँ सामान जोडेर सन्ध्याकालमा लक्ष्मीको आराधना गरिन्छ। कात्तिक कृष्ण त्रयोदशीका दिनदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ। यमपञ्चकका पाँच दिनमध्ये धनतेरस, लक्ष्मीपूजा, गाईपूजा र भैयादूज मैथिल परम्परामा विशेष मानिन्छन् । पर्वको तेश्रो दिन कात्तिक औंंशीको साँझ घरको चौदिशा दीपमालिका गर्दै लक्ष्मी स्थापना गरेर पूजाआराधना गरिन्छ।
मिष्ठान्न परिकार खाने खुवाइने यो पर्वको चौथो दिन गाई/गोरुलाई रङ्गाउने, सिङ् र खुरमा तोरीको तेल लगाइदिने, नयाँ रङ्गिन दाम्ला फेर्ने र रुचीकर खानेकुरा दिने मैथिल चलन छ। पौराणिक कथानक पाताललोकका राजा वलिको सन्दर्भ जोडिने यो पर्वमा कात्तिक शुक्ल द्वितीयाका ‘भैयादूज’ पर्व मनाउने मैथिल परम्परा छ। राजा बलिलाई बहिनीहरु गङ्गा र यमुनाले मङ्गल कामनाका साथ सप्तरङ्गी टिका र माला लगाइदिएको सम्झनामा यो पर्वको परम्परा चलेको मैथिल जनविश्वास छ।
पर्वको पहिलो दिन कागतिहार र दोश्रो दिन कुकुर पूजा गरिने पर्वते मूलको हिन्दू परम्पराभने मिथिलामा देखिँदैन। यद्यपि मैथिल ‘यमपञ्चक’ पर्व विधिमा पनि कागपूजा र स्वानःपूजा (कुकुरपूजा) को वर्णन भने रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झा बताउँछन्।
दीपावली पर्वसँगै अहिले घरको रङ्गरोगन गर्ने सामग्री, पूजाअर्चनाका लागि प्रयोग गरिने बाँसको चोयाले बुनिने र माटाका भाँडाको जताततै छुट्टै बजार जमेको देखिँदैछ। खासमा दीपमालिकाका लागि माटाका दियौरी प्रयोग गरिने मैथिल परम्पराले यस्तो सामग्री बनाउने कुम्हाल जाति समुदाय अहिले व्यस्त देखिदा छन्।
यमपञ्चक सकिनासाथ लगत्तै दुई दिनपछि शुरु हुने छठ र छठसँगै शुरु हुने सामाचकेवा पर्वको रमझम र तयारी पनि मिथिलामा अहिलेदेखि नै बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।