वासिंटन- डेमोक्रेटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदको उम्मेदवार जो बाइडेन जर्जिया र पेन्सिलभेनियाको मत परिणाममा अग्रता लिएका छन्। १६ इलेक्टोरल कलेज भोट रहेको जर्जिया र २० इलेक्टोरल मत भोट रहेको पेन्सिलभेनियामा उनले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई पछि पार्दै अघि बढेका हुन्।
नेपाली समयअनुसार शुक्रबार बेलुका ८ बजेसम्म अमेरिकी सञ्चार संस्था फक्स न्युजले अद्यावधिक गरेको विवरण अनुसार यी दुई राज्यमा बाइडेनले अग्रता लिएका हुन्। हालसम्म गणना गरिएका मतमध्ये पेन्सिलभेनियामा बाइडेनले ३२ लाख ९५ हजार ३२७ मत ल्याएका छन्। त्यहाँ ट्रम्पले भने ३२ लाख ८९ हजार ७३१ मत ल्याएका छन्।
बाइडेनले जर्जियामा न्यून मतको अग्रता लिएका छन्। फक्स न्युजको विवरण अनुसार बाइडेनले २४ लाख ४९ हजार ५८२ मत ल्याएका छन् भने ट्रम्पले २४ लाख ४८ हजार ४८५ मत ल्याएका हुन्। यसरी हेर्दा जर्जियामा ट्रम्पले बाइडेनभन्दा १ हजार ९७ मत मात्र कम ल्याएका छन्।
फक्सकै विवरणअनुसार हालसम्म बाइडेनले २६४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन्। ट्रम्पले भने २१४ इलेक्टोरल मत ल्याएका छन्। अमेरिकी राष्ट्रपति बन्नका लागि कम्तीमा २७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ।
३ इलेक्टोल कलेज मत रहेको अलास्का, ६ इलेक्टोरल मत रहेको नाभेडा, १५ इलेक्टोरल कलेज मत रहेको नर्थ क्यारोलिना र २० इलेक्टोरल मत रहेको पेन्सिलभेनियाको अन्तिम मत परिणाम प्राप्त हुन बाँकी छ।
यीमध्ये नाभेडा, जर्जिया र पेन्सिलभेनिया राज्यमा बाइडेन अगाडि छन् भने अलास्का र नर्थ क्यारोलिनामा ट्रम्पको अग्रता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।