काठमाडौं– गोरखाको अजिरकोटका २५ वर्षीय आशिष मगरको हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आशिषको हत्यामा संलग्न भएको आरोपमा उदयपुरका २० वर्षीय रुपेश आलेमगरलाई धरानबाट पक्राउ गरेको हो।
कात्तिक १४ गते टोखा नगरपालिका–५ स्थित देवी मन्दिर परिसरमा आशिषको हत्या भएको थियो। केटी साथीको विषयमा विवाद हुँदा रुपेश आलेमगरको समूहले उनीमाथि आक्रमण गरेको थियो। छुरा प्रहारबाट गम्भीर घाइते भएका आशिषको उपचारको क्रममा चिरायु अस्पतालमा मृत्यु भएको थियो।
केटीको विषयमा विवाद हुँदा दुई समूहबीच ग्याङ फाइट गर्ने भन्दै फोनमार्फत नै बोलाएर झडप भएको पाइएको महाशाखाले जनाएको छ।
सो क्रममा रुपेशले आफूसँग भएको छुरीले आशिष मगरलाई छातीमा प्रहार गरी तुरुन्तै घटनास्थलबाट भागेका थिए। उनी भागेर धरानसम्म पुगेको थिए। महाशाखाको टोलीले उनलाई धरानको भानुचोकबाट पक्राउ गरेको हो।
पक्राउ परेका रुपेशलाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको महाशाखाले जनाएको छ। हत्यामा प्रयोग भएको छुरी समेत प्रहरीले बरामद गरेको छ।
यसअघि प्रहरीले उक्त हत्यामा संलग्न भएको आरोपमा संखुवासभा घर भई टोखा–५ धापासी बस्ने १९ वर्षीय दार्जे शेर्पा, टोखा–५ का २६ वर्षीइ डेडे भनिने राम श्रेष्ठ र स्याङ्जाको गल्याङ–३ का २७ वर्षीय रवि थापामगरलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।