काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि ढाका प्रस्थान गरेको छ। बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली फुटबल टिम बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो।
नेपालले कातिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। करिब एक वर्षपछि नेपाली फुटबल टिमले खेल खेल्न लागेको हो।
यसअघि सन् २०१९ को नोभेम्बर १९ तारिखमा भुटानमा विश्वकप छनोटको दोस्रो चरणको खेलमा नेपालले कुबेतसँग खेलेको थियो। जुन खेलमा नेपाल १–० गोलले पराजित भएको थियो। त्यसपछि भने कोरोना भाइरसको कारण नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न पाएन।
लामो समयपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको नेपाली टिममा धेरै नयाँ अनुहार छन्। २५ सदस्यीय खेलाडीमा आठ नयाँ अनुहार छन्। नेपाली टिममा कप्तान किरण चेम्जोङसँगै अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विक्रम लामा, विशाल श्रेष्ठ, जर्जप्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, रन्जित धिमाल, रवि वासवान, सुबास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ छन्। त्यस्तै, एरिक विष्ट, विकास खवास, विमल राना, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तान, पजन उपरकोटी, सरोज दाहाल, सेशेहाङ आङदम्बे पनि टिममा छन्।
बालगोपाल महर्जनको मुख्य प्रशिक्षणमा रहेको नेपाली टिम दुबै मैत्रीपूर्ण खेलमा शतप्रतिशत नतिजा निकाल्दै स्वदेश फर्किने लक्ष्यसहित गएको छ। नेपालले बंगलादेशसँग सन् २०१८ को साफ च्याम्पियनसिपको समूह चरणमा प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा बंगलादेशलाई नेपालले उसैको भूमिमा २–० ले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।