काठमाडौं– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जारी च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ। बुधबार राति भएको खेलमा पिएजसी लाइपजिगसँग २–१ गोलअन्तरले पराजित भएको हो।
लाइपजिगविरुद्ध ९ खेलाडीमा झरेको पिएसजीले नमिठो हार ब्यहोरेको हो। खेलको छैटौं मिनेटमा नै डि मारियाको गोलबाट अग्रता बनाएको पिएसजीले बाँकी समयमा दुई गोल खाँदै लाइपजिगलाई तीन अंक सुम्पिएको हो। लाइपजिगका लागि क्रिस्टोफर निकुन्कुले ४१ औं मिनेटमा गोल गर्दै १–१ गोलको बराबरी दिलाए। इमिल फोर्सबर्गले खेलको ५७ औं मिनेटमा गोल गर्दै लाइपजिगलाई २–१ गोलको जित दिलाए।
त्यस्तै, समूह ‘एच’ कै अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्तानबुल बासाकेसिरसँग २–१ गोलले नै पराजित भएको छ। खेलको १२ औं मिनेटमा डेम्बा बाले गोल गर्दै स्तानबुललाई अग्रता दिलाए। ४० औं मिनेटमा इडिन भिस्काले गोल गरेपछि म्यानचेस्टर युनाइटेडविरुद्ध स्तानबुलले २–० गोलको अग्रता बनायो। खेलको ४३ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै २–१ गोलको स्थितिमा ल्याएपनि म्यानचेस्टर युनाइटेड बाँकी समयमा खेल फर्किन सकेन।
च्याम्पियन्स लिगअन्तर्गत नै समूह ‘एफ’ को खेलमा बोरुसिया डर्टमन्डले क्लब बर्गलाई ३–० गोलअन्तरले पराजित गरेको छ। यसै समूहमा भएको अर्को खेलमा लाजियोले सेन्ट पिटर्सबर्गसँग १–१ गोलको बराबरी खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।