काठमाडौं– इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब रेनेसविरुद्ध सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित रेनेसलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु क्लब चेल्सीको जितमा टिमो वेर्नरले दुई गोल गर्दा टमी अब्राहमले एक गोल थपे। खेलको १० औं मिनेटमा वेर्नरले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। खेलको ४० औं मिनेटमा चेगास इस्टेभाओले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो। इस्टेभाओ भने दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रेनेस १० खेलाडीमा सीमित भयो। वेर्नरले नै दोस्रो पटक पेनाल्टी प्रहार गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाए। खेलको ५० औं मिनेटमा अब्राहमले अर्को गोल गर्दै चेल्सीलाई ३–० गोलको जित दिलाए।
समूह ‘इ’ कै अर्को खेलमा स्पेनिस क्लब सेभियाले क्रस्नोडारलाई ३–२ गोलअन्तरले पराजित गरेको छ। पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको सेभियाले उत्कृष्ट प्रदर्शन गर्दै क्रस्नोडारलाई पराजित गरेको हो। सुरुवातमै दुई गोलले पछि परेको सेभियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो।
जितसँगै समूह ‘इ’ को शीर्ष स्थानमा रहेको चेल्सीले तीन खेलबाट सात अंक बनाएको छ। पराजित रेनेसको भने तीन खेलबाट एक अंक मात्रै छ। यता, सेभियाको पनि समान खेलबाट सात अंक नै छ। पराजित क्रस्नोडारको तीन खेलबाट एक अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।