काठमाडौं– इटालियन क्लब युभेन्टसले जारी च्याम्पियन्स लिग फुटबलको समूह चरणमा दोस्रो जित निकालेको छ। समूह ‘जी’ मा रहेको युभेन्टसले बुधबार राति हंगेरियन क्लब फेरेन्सबारोसीलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु क्लब फेरेन्सबारोसीलाई पराजित गर्न युभेन्टसका अल्भारो मोरटाले दुई गोल गरे। त्यस्तै, पाउल डिबालाले एक गोल थप्दा एक गोल भने उपाहार स्वरुप युभेन्टसले पाएको थियो। फेरेन्सबारोसीका लागि फ्रान्क बोलीले एक गोल फर्काए। खेलको सातौं मिनेटमा नै मोरटाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। उनको गोल कै कारण युभेन्टसले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो।
खेलको ६० औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–० गोलको अग्रता दिलाए। खेलको ६७ औं मिनेटमा मोरटाको स्थानमा मैदान छिरेका डिबालाले ७२ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई ३–० गोलको अग्रता दिलाए। ८१ औं मिनेटमा फेरेन्सबारोसीका लशा डिभलीले आत्मघाती गोल गरेपछि युभेन्टसले ४–० गोलको अग्रता लिएको थियो। खेलको ९० औं मिनेटमा फ्रान्कले गोल गर्दै फेरेन्सबारोसीलाई ४–१ गोलको स्थितिमा ल्याएका थिए।
यो युभेन्टसको दोस्रो जित हो। तीन खेल खेलेको युभेन्टसले ६ अंक बनाएको छ। पराजित फेरेन्सबारोसीले भने तीन खेलबाट एक अंक मात्रै बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।