काठमाडौं– लामो विवाद र अन्योल चिर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को शनिबार हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ। अध्यक्षका लागि एन्फाका वर्तमान वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्वउपाध्यक्ष कर्माछिरिङ पक्षबीच प्रतिस्पर्धा हुँदैछ।
यद्यपि कुँवरले शुक्रबार पत्रकार सम्मेलन गरी साधारणसभा विधानअनुसार नहुने भन्दै निर्वाचनमा भाग नलिने बताएका छन्। कुँवरले आफ्ना केही समर्थकले भाग नलिने बताए पनि संख्या भने खुलाएनन्। जसका कारण कर्माछिरिङ अध्यक्षमा निर्वाचित हुने प्रबल सम्भावना छ। उम्मेदवारी फिर्ता लिने समय यसअघि नै सकिएकाले कुँवरको उम्मेदवारी भने कामय रहनेछ।
एन्फाका कानुनी सल्लाहकार सुजित केसीका अनुसार प्रतिनिधि सदस्यको ५० प्रतिशत भए निर्वाचन विधानअनुसार हुनेछ। कुँवरको बहिस्कारले निर्वाचन प्रक्रियामा भन असर पर्नेछैन।
कुँवरले विधानअनुसार निर्वाचन नभएको दाबी गरे पनि जिल्ला अदालत काठमाडौं, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले भने विधानअनुसार नै निर्वाचन हुन लागेको जनाएको छ। निर्वाचनका लागि फिफा प्रतिनिधि आज राति नेपाल आइपुग्दैछन्।
कुँवरले विधानअनुसार निर्वाचन प्रक्रिया ६० दिन हुनुपर्ने दाबी गर्दै आएका छन्। एन्फाले चैत १४ मा स्थगित भएको निर्वाचन प्रक्रियाका आधारमा निर्वाचनको मिति गत साता बैसाख २२ का लागि तोकेको थियो।
यता कर्मा पक्षले पनि शुक्रबार काठमाडौंको बुढानीलकण्ठमा भेला आयोजना गरेको छ। जहाँ ४९ जना मतदाता उपस्थित भएको दाबी गरिएको छ। निर्वाचनमा जित हात पार्नका लागि ३९ मतको आवश्यकता पर्छ।
यसअघि कर्मा पक्षले केन्द्रीय समितिको समेत बहुमत सदस्यले विधानसम्मत निर्वाचन गर्नुपर्छ भनेको दाबी गर्दै आएको थियो। निर्वाचन प्रक्रिया कर्मा पक्षले भनेबमोजिम अघि बढेको तथा निर्वाचनमा बहुमत सदस्यको समर्थन रहेकाले कर्मा पक्ष एन्फा निर्वाचनमा हाबी देखिएको हो।
शनिबार हुने निर्वाचनमा अध्यक्षका लगि मणि र कर्माछिरिङबीच भिडन्त हुनेछ। ४ उपाध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ। जहाँ कर्मा प्यानलबाट पंकजविक्रम नेम्बाङ, कृष्ण थापा, वीरबहादुर खड्का र उपेन्द्रमान सिंह उपाध्यक्षका उम्मेदवार छन्। उपाध्यक्षमा किशोर राईको उम्मेदवारी परे पनि उनले निर्वाचन नलड्ने बताउँदै आएका छन्। मणि पक्षबाट मोहम्मद समिउल्लाह, विराटजंग शाही, सुनिल राणा र गणेशबहादुर चन्द उपाध्यक्षका लागि प्रतिस्पर्धा गर्दैछन्। मणि पक्षका चन्दले पनि निर्वाचनमा भाग नलिने बताएका छन्।
यस्तै ११ केन्द्रीय सदस्य पदका लागि २९ जनाबीच प्रतिस्पर्धा हुँदैछ। एक महिला सदस्य भने निर्विरोध चयन भइसकेको छ। कर्माछिरिङ पक्षकी पेमा लामा महिला सदस्यमा निर्विरोध भएकी हुन्।
केन्द्रीय समितिको महासचिव र कोषाध्यक्ष भने मनोनीत हुने व्यवस्था छ। महासचिवमा एन्फाका पूर्वसिइओ इन्द्रमान तुलाधरलाई कर्मा पक्षले अघि सारेको स्रोतको दाबी छ।
कर्मा पक्ष
अध्यक्ष– कर्माछिरिङ शेर्पा
उपाध्यक्षहरु (४) – पंकजविक्रम नेम्बाङ, कृष्ण थापा, वीरबहादुर खड्का, उपेन्द्रमान सिंह
कुँवर पक्ष
अध्यक्ष– मणि कुँवर
उपाध्यक्षहरु (४) – मोहमद समिउल्लाह, विराटजंग शाही, सुनिल राणा, गणेशबहादुर चन्द
सदस्यहरु (११ जनाका लागि)
निरोज खड्गी, मधुसूदन उपाध्याय, दावा लामा, पूर्णमान चित्रकार, रविन्द्रमान श्रेष्ठ, प्रदेशसिंह राठौर, दिनेश व्यन्जनकार, दीर्घबहादुर केसी (कुमार), किरण राई, रत्नकुमार श्रेष्ठ, विजय घले, रमेश रायमाझी, सुरेश शाह, पुरुषोत्तम थापा, बालकुमार साँवा, देवेन्द्रमानसिंह बस्नेत, प्रवीणकुमार यादव, दीपक खतिवडा, सन्तोषभक्त राजलवट, अनिल मल्ल, भीमसेन केसी, अशोक विष्ट, प्रह्लादप्रसाद साह, राजेन्द्रकुमार श्रेष्ठ, मानदेव हजारा, महेन्द्रप्रसाद गिरी, लब खत्री, प्रमोद हमाल, मोहनकुमार बस्नेत।
महिला सदस्य– पेमा लामा (निर्विरोध)
निर्वाचनमा सहभागी हुने ७७ जना
जिल्ला – ४५
ए डिभिजन क्लब – १४
बी डिभिजन – ९
सी डिभिजन – ५
प्रशिक्षक संघ – १
रेफ्री संघ – १
महिला संघ – १
खेलाडी संघ – १
उम्मेदवारको नामावली

भोटरको नामावली


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।