काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनामा डेमोक्रेटले गरेको धाँधलविरुद्ध सर्वोच्च अदालत जाने बताएका छन्। ह्वाइटहाउसमा आफ्ना सम्बोधन गर्दै उनले चुनाव आफूले जितिसकेको दाबी पनि गरे। उनले आफूहरु ठूलो जितको क्रममा रहेको पनि बताए।
उनले अहिले मतगणना भइरहेका राज्यमा डेमोक्रेटले धाँधली गरेको आरोप लगाए। उनले भने, ‘चुनावमा धाँधली भएको छ। हामी कानुनको पूर्ण पालना गराउन लाग्ने छौँ।’ उनले उक्त धाँधलीविरुद्ध सर्वोच्च अदालत जाने चेतावनी दिए। चार बजेपछि आएका कुनै पनि मतगणना हुन नहुने उनले बताए । चार बजे पनि मतदान भएको र यो सरासर धाँधली भएको उनको दावी थियो।
तर अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण सार्वजजिक भएको छैन । उनले मतगणना भइरहेका राज्यमा पनि आफू विजयी भएको दाबी गरेका छन्।
पेनसिलभेनिया, विस्कनसिन, जर्जिया, एरिजोना, नेभाडा, नर्थ क्यारोलिना, मिसिगनसहितका राज्यमा पनि आफूले जितेको दाबी ट्रम्पले गरेका छन्।
एरिजोना र नेभाडामा बाइडेन अघि रहेका छन् । ती राज्यमा मतगणना जारी रहनु पर्ने ट्रम्पले बताएका छन्।
तर आफू अघि रहेका अरु राज्यमा मतगणना रोकिनु पर्ने आशयको वक्तव्य दिएका छन् । उनले आफू पराजित भएमा सर्वोच्च अदालत जाने र परिणाम उल्टाउने चेतावनी दिएका छन्।
अमेरिकाको राष्ट्रपति निर्वाचित हुनका लागि ५३८ इलेक्टोरल कलेज मतमध्ये २७० मत प्राप्त गर्नु पर्छ। अहिलेसम्म आएका नतिजा तथा अग्रताहरुमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन साँघुरो अग्रतामा छन्।
फक्स न्यूजका अनुसार बाइडेनको पक्षमा २३८ तथा ट्रम्पको पक्षमा २१३ रहेको छ। अहिले गणना जारी रहेको छ तर ट्रम्पले औपचारिक सम्बोधनमा आफू विजयी भएको घोषणा गरि पराजित भएमा सर्वोच्च अदालत जाने बताएका बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।