काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबको ६ महिनाभित्र नयाँ प्रविधि भित्र्याउँदै अनलाइन टिकटिङ सुरु गर्ने भएको छ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले पुरानो प्रविधिका कारण समस्या भएकाले अब नयाँ प्रविधि प्रयोग गरेर अनलाइन टिकटिङ सुरु गर्ने जनाएका छन्।
‘नेपाल एयरलाइन्सले किन अनलाइन टिकटिङ सुरु गर्दैन भनेर धेरै साथीहरु तथा सेवााग्रहीले जिज्ञासा राख्नुहुन्छ,’ पौडेलले भने, ‘नेपाल एयरलाइन्सले अहिले प्रयोग गरिरहेको प्रविधि करिब ३० वर्ष पुरानो हो, जसबाट अनलाइन टिकटिङ पूर्ण रुपमा सम्पादन गर्न सकिँदैन। यो सिस्टम २० वर्षको अग्रिम भुक्तानी दिएर खरिद गरिएको रहेछ। त्यसैले ‘सिस्टम’ परिवर्तन गर्दा नेपाल एयरलाइन्सलाई ठूलो रकम नोक्सान हुने भएकाले यसलाई क्रमशः विस्थापन गरेर ६ महिनामा पुर्ण रुपमा नयाँ सफ्टवेयर राख्ने योजना बनाएका छौं।’
अहिले निगमले राख्न प्रस्ताव गरेको नयाँ सफ्टवेयरमा अनलाइन टिकटिङ, मोबाइल एप, मोबाईल पेमेन्ट, ईकमर्स लगायतका सयौं नयाँ फिचरहरु थपिने पौडेलको भनाइ छ।
‘हाम्रो गौरव र पौरखको रुपमा रहेको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी नेपाल एयरलाइन्सका सेवाहरुलाई क्रमसः अत्याधुनिक बनाएर प्रभावकारी बनाउने अभियानमा हामी जुटिरहेका छौं,’ उनले भने, ‘यसमा सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको रचनात्मक सुझावको अपेक्षा गरेका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।