काठमाडौं- मुस्ताङको लोमान्थाङमा सशस्त्र प्रहरी बल (एपिएफ)को बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ। गृहसचिव महेश्वर न्यौपानेले लोमान्थाङ–४ मा स्थापना हुने बिओपीको शिलान्यास गरेका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) शैलेन्द्र खनालसहित लोमान्थाङ–४ मा नेचुङ पुगेका सचिव न्यौपानेले बुधबार सो भवनको शिलान्यास गरेका हुन्।
गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बिओपि सदरमुकाम जोमसोम बाट १ सय ९ किलोमिटरको दूरीमा समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा अवस्थित छ।
२४ कोठाको मौसम अनुकुलको हुने भवन करिब साढे ६ करोडको लागतमा एक वर्षभित्र निर्माण भइसक्नेछ। असोजदेखि वैशाखसम्म नै भारि हिमपात हुने त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल १२ महिना नै तैनाथ रहने भएको हो। हालसम्म देशभर सशस्त्र प्रहरि बलका १ सय ८३ वटा बिओपी स्थापना भएका मध्ये उत्तरी सिमानामा ७ वटा रहेका छन्।
बिओपी स्थापना भएसँगै मुस्ताङको उत्तरी सिमानामा सशस्त्र प्रहरीले सीमा अनुगमन, पिल्लर निरीक्षण , काउन्टरपार्टस् सँग समन्वय तथा नियमित गस्ती पट्रोलिङ गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।