काठमाडौं–इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा ओलम्पियाकोसलाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा सिटीले ओलम्पियाकोसलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम सिटीको जितमा गाब्रियल जेसुस, फेरान टोरेस र जोआओ कान्सेलोले गोल गरे। खेलको १२ औं मिनेटमा नै टोरेसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। उनकै गोलमा सिटीले ओलम्पियाकोसविरुद्ध पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो। सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दै सहज जित निकालेको हो।
खेलको ८१ औं मिनेटमा गाब्रियल जेसुसले गोल गर्दै सिटीलाई २–० गोलको अग्रतामा पुर्याए। खेलको ९० औं मिनेटमा कान्सेलोले गोल गरेपपछि सिटी ३–० गोलले विजयी भएको हो।
समूह ‘सी’ मै भएको अर्को खेलमा पोर्टोले मार्सेलीलाई ३–० गोलअन्तरले नै पराजित गरेको छ। जारी च्याम्पियन्स लिगको समूह चरणमा पोर्टोले दोस्रो जित निकाल्दा मार्सेली भने जितविहीन छ।
शीर्ष स्थानमा रहेको सिटीले शतप्रतिशत जित निकाल्दै ९ अंक बनाएको छ। पराजित ओलम्पियाकोस भने तीन खेलबाट तीन अंक मात्रै बनाएको छ। समूहको दोस्रो स्थानमा रहेको पोर्टोको भने तीन खेलबाट ६ अंक छ। यता, लगातार तीनै खेलमा हारेको मार्सेली भने अंक विहीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।