काठमाडौं– इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा एटलान्टालाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले पराजित गरेको हो।
घरेलु टोलीविरुद्ध फराकिलो जित निकाल्ने क्रममा लिभरपुलका डिएगो जोटाले ह्याट्रिक गोल गरे। त्यस्तै, मोहमद सलाह र साडियो मानेले १–१ गोल थपे। समूह ‘डी’ मा रहेको लिभरपुललाई खेलको १६ औं मिनेटमा गोल गर्दै जोटाले अग्रता दिलाए। खेलको ३३ औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल पहिलो हाफसम्म २–० गोलले अघि रह्यो।
खेलको ४७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३–० गोलको अग्रता दिलाए। त्यसको दुई मिनेटपछि नै मानेले गोल गरेपछि लिभरपुलले ४–० गोलको अग्रता लिएको थियो। खेलको ५४ औं मिनेटमा जोटाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। बाँकी समयमा गोल हुन नसकेपछि लिभरपुलले एटलान्टालाई ५–० गोलअन्तरले पराजित गरेको हो। समूह ‘डी’ कै अर्को खेलमा आयाक्सले मिडलिजेन्डलाई २–१ गोलअन्तरले पराजित गरेको छ।
यो जित लिभरपुलको लगातार तेस्रो जित हो। समूहमा शीर्ष स्थानमा रहेको लिभरपुलले तीन खेलमा शतप्रतिशत जित निकाल्दै ९ अंक जोडेको छ। पराजित एटलान्टाले भने तीन खेलबाट चार अंक बनाएको छ। दोस्रो स्थानमा रहेको आयाक्सको पनि तीन खेलबाट चार अंक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।