काठमाडौं– डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले च्याम्पियन्स लिग फुटबलमा अस्ट्रियन क्लब साल्जबर्गलाई पराजित गरेको छ।मंगलबार राति भएको खेलमा बायर्नले साल्जबर्गलाई ६–२ गोल अन्तरको फराकिलो जित निकालेको हो।
यो जितसँगै बायर्नले च्याम्पियन्स लिगमा आफूले खेलेको तीन खेलमा शतप्रतिशत जित निकालेको छ। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई, जेरोम बोटेङ, लिरो साने र लुकास हर्नान्डेजले गोल गरे। साल्जबर्गका रासमस क्रिस्टेन्सनले आत्मघाती गोल गरेपछि बायर्नले उपाहार स्वरुप एक गोल पाएको थियो। यता, साल्जबर्गका लागि भने मर्गिम बेरिशा र मससाया ओकगावाले गोल फर्काए।
बेरिशाले खेलको चौथो मिनेटमा नै गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाए। तर खेलको २१ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट गोल गरेपछि बायर्नले १–१ गोलको बराबरी बनाएको थियो। खेलको ४४ औं मिनेटमा क्रिस्टेन्सनले आत्मघाति गोल गरेपछि बायर्नले पहिलो हाफमा २–१ गोलको अग्रता बनायो।
पहिलो हाफमा २–१ गोल अन्तरले अघि रहेको बायर्नले दोस्रो हाफमा थप ४ गोल गर्न गर्दा साल्जबर्गले एक गोल भने फर्काउन सफल भयो। मसायाले खेलको ६६ औं मिनेटमा गोल गर्दै साल्जबर्गलाई २–२ गोलको बराबरी दिलाए। तर खेलको ७९ औं मिनेटमा बोटेङले गोल गर्दै बायर्नलाई ३–२ गोलको अग्रता दिलाए। त्यसपछि ८३ औं मिनेटमा सानेले र ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा खेलको अन्तिम समयमा हर्नान्डेजले गोल गर्दै बायर्नलाई ६–२ गोलको जित दिलाए।
समूह ए कै अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले मस्कोसँग १–१ गोलको बराबरी खेलेको छ। समूह ए मा रहेको बायर्नको यो जितसँगै ९ अंक भएको छ। शीर्ष स्थानमा रहेको बायर्नले तीन खेलमा शतप्रतिशत जित निकालेको हो। पराजित साल्जबर्गले भने तीन खेलबाट एक अंक मात्रै जोडेको छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको तीन खेलबाट चार अंक हुँदा तेस्रो स्थानको मस्कोको समान खेलबाट दुई अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।