काठमाडौं- प्रहरीले एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि मंगलबार राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ।
पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौंको ताहाचल बस्ने ३१ वर्षका विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वत कुश्मा घर भई काठमाडौं बस्ने ३२ वर्षका गणेश पौडेल रहेका छन्।
अवैध हुण्डी कारोबारीको गिरोह होटलमा गोप्यरुपमा बसेको सूचनाको आधारमा खोजी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको साथबाट ९९ लाख चौरासी हजारी र ९०० अमेरिकी डलर बरामद गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। सोमबार साँझ पक्राउ परेका उनीहरुलाई थप कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।