काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी यो सिजन गोलको राम्रो लयमा देखिन सकेका छैनन्। ला लिगामा एक र च्याम्पियन्स लिगमा दुई गोल गरेका मेस्सीले मैदानमा भने सबै खेलमा पूरा ९० मिनेट बिताएका छन्।
अहिलेसम्म चार असिस्ट गरेका मेस्सी चोटका कारणबाहेक मैदान बाहिर बस्न रुचाउँदैनन्। जसले गर्दा यो सिजन दुई महिनामा ला लिगा र च्याम्पियन्स लिगमा गरेर उनी ७२० मिनेट मैदानमा छन्। त्यसबाहेक उनले अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाबाट खेलेका खेललाई पनि बिर्सन मिल्दैन।
३३ वर्षका मेस्सी अझै टिमको केन्द्रमा रहेकाले उनलाई बाहिर राख्नु टिमका लागि सहज हुँदैन। तर केही खेलमा केही समय बाहिर राख्ने अवसर भने प्रशिक्षक रोनाल्ड कोम्यानको लागि देखिएको थियो, तर आरामकै लागि भए पनि मेस्सीलाई बाहिर राख्ने आँट प्रशिक्षक कोम्यानले गरेका छैनन्। भिलारियल, सेल्टा भिगो र फेरेन्सबारोसी जस्ता टिमसँगको खेलमा मेस्सीलाई परिवर्तन गर्ने मिल्ने अवस्था पनि थिए।
केही समय चोटमा रहेर २०१९ को अक्टोवरमा ठीक भएयता बार्सिलोनाको प्रतिस्पर्धात्मक दुई खेल मात्र मेस्सीले गुमाएका छन्। एउटा खेल ला लिगा र च्याम्पियन्स लिगलाई भन्दा कम महत्व दिइने कोपा डेर रे को थियो भने अर्को गएको सिजन च्याम्पियन्स लिगमा अघि बढिसकेपछि समूह चरणको खेल थियो।
बुधबार राति पौने २ बजे बार्सिलोनाले च्याम्पियन्स लिग खेलमा डायनामो किभसँग खेल्दैछ। १३ खेलाडी कोरोना संक्रमणका कारण समस्यामा रहेको डायनामो किभविरुद्ध बार्सिलोनालाई केही सहज हुने अनुमान गरिएका छन्। जसले गर्दा क्याम्प नाउमा हुने खेलमा बार्सिलोना सहज अवस्थामा रहे मेस्सीलाई आराम दिने मौका हुनेछ। पेनाल्टीबाहेक गोलमा बढ्न नसकिरहेका मेस्सीका लागि केही परिवर्तनको अर्थसमेत हुनेछ।
यसपछि पनि मेस्सीका लागि आरामको सहज समय हुने छैन। लिगमा पछि परिरहेको अवस्थामा कोम्यानले मेस्सीबाहेक फरक रुपमा सोच्न सक्ने ठाउँ पनि देखिँदैन। त्यसमाथि मेस्सी नोभेम्बरको अन्तिमतिर अर्जेन्टिनाको विश्वकप छनोट खेलमा पाराग्वे र पेरुविरुद्ध पनि खेल्नु नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।