काठमाडौं- युइएफए च्याम्पियन्स लिग फुृटबलमा मंगलबार राति आठ खेल हुँदै छन्। समूह चरण तेस्रो चरणका खेलहरुले टिम अघि बढ्ने बाटो प्रस्ट्याउने हुँदा खेल विशेष महत्वका छन्। बायर्न म्युनिक, म्यानचेस्टर सिटी, लिभरपुल जस्ता टिम यसअघि नै राम्रो स्थितिमा देखिन्छन् भने रियल मड्रिड, इन्टर मिलान, आयाक्स जस्ता टिम कठिन अवस्थामा छन्।
मंगलबार राति ११ः४० मा दुई खेल हुँदैछन्, जसमा शख्तर डोनेस्क र मोन्चेनग्लादबाख साथै लोकोमोटिभ मस्को र एथ्लेटिको मड्रिड खेल्दैछन्। राति १ः४५ मा छ खेल हुँदैछन्। जहाँ साल्जबर्ग र बायर्न म्युनिक, रियल मड्रिड र इन्टर मिलान, म्यानचेस्टर सिटी र ओलम्पियाकोस, पोर्टो र मार्सेली, एटलान्टा र लिभरपुल साथै मिड्जेल्यान्ड र आयाक्स खेल्दैछन्।
जिदान भर्सेस कोन्टे
च्याम्पियन्स लिग समूह ‘बी’ मा रहेका रियल मड्रिड र इन्टर मिलानका लागि यसअघिका दुई खेल राम्रो हुन सकेका छैनन्। इन्टरले यसअघि दुबै खेल बराबरी खेलेको थियो भने मड्रिडले एक खेल हारेर एक खेल बराबरी गरेको थियो। यसैले मड्रिड प्रशिक्षक जिनेदिने जिदान र इन्टर मिलान प्रशिक्षक एन्टोनियो कोन्टेका लागि मंगलबारको खेल कठीन छ। रियल मड्रिडमा लामो समय चोटका कारण बाहिर रहेका इडन हाजार्ड टिममा फर्किएका छन् भने इन्टर मिलानमा लुकाकु र सान्चेज जस्ता खेलाडी चोटका कारण बाहिर छन्।

शख्तरलाई अवसर
शख्तर डोनेस्कका लागि यसअघि इन्टर मिलानसँगको गोलरहित बराबरी भएको खेल जितको खुसी जस्तो भइरहेको थियो। त्यसअघि रियल मड्रिडलाई ३–२ ले हराएको शख्तर चार अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ। ‘हामी खेलमा फेयर हुनुपर्छ र राम्रो गरेका खेलाडीलाई अवसर र सम्मान दिनुपर्छ’ शख्तर प्रशिक्षक लुइस क्यास्ट्रो आफ्नो भनाइ जसरी नै अघि बढ्ने प्रशिक्षक हुन्। जसले मोन्चेनग्लादबाखका लागि सहज हुने छैन।
साल्जबर्गले के गर्ला
अस्ट्रियन क्लब साल्जबर्ग खेल हेर्न रमाइलो हुने टिम हो। गएको सिजनमा मन जितेको साल्जबर्ग यो सिजन समूह ‘ए’ मा पुछारमा छ। बायर्न म्युनिक, एथ्लेटिको मड्रिड र लोकोमोटिभ मस्को रहेको समूहमा साल्जबर्गका लागि अब अवसर सानो देखिन्छ। जसमा यदि बायर्नलाई रोक्न सके ठूलो काम हुनेछ। अस्ट्रियन टिमसँग बायर्न अहिलेसम्म पराजित भएको छैन, तर इतिहास एकपटक त फेरिने आश हुन्छ नै।

लिभरपुललाई डर
गएको वर्ष एटलान्टाले पहिलो च्याम्पियन्स लिगमा सुरुका केही खेलमा दुर्भाग्य देखियो। तर पछिल्ला खेलमा राम्रो गर्दै अघि बढ्यो। पहिलो सिजन नै क्वार्टरफाइनल पुगेको टिम यो दोस्रो सिजन पनि अघि बढ्ने विश्वासमा नै देखिन्छ। यसैले प्रिमियर लिग विजेता लिभरपुलका लागि एटलान्टा सहज विपक्षी होइन। चोटले समस्यामा रहेको लिभरपुल डिफेन्सका कारण पनि डर बढेकै छ।
सिटीलाई नयाँ स्वाद
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी यो सिजन समूह चरणमा दुई खेलमा दुई जितका साथ शीर्ष स्थानमा छ। लिगमा केही पछाडि देखिएको सिटी प्रशिक्षक पेप गार्डिओलाका लागि च्याम्पियन्स लिगमा केही गर्न नसकेको आलोचना त सधैँ नै छ। समूह चरणमा तेस्रो खेलमा ओलम्पियाकोस सिटीका लागि नयाँ टिम हो। तर गार्डिओलाले बायर्न म्युनिकको प्रशिक्षक रहँदा २०१५–१६ को सिजन ओलम्पियाकोसको सामना गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।