काठमाडौँ- खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले विरोध गरेको छ।
कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी निशुल्क खानाको व्यवस्था गर्नुपर्नेमा उल्टै रोक लगाउने निर्णय गरेको भन्दै साझाले महानगरको कदमको विरोधसमेत गरेको छ।
हेरचाह गर्नुको उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको साझा पार्टीले बताएको छ।
'केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ,' पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
'सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्। शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले,' साझाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरी कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गर्नसमेत साझाको आग्रह छ।
खुलामञ्चमा निशुल्क खाना वितरण गर्दा फोहोर भएको भन्दै काठमाडौं महानगरले निःशुल्क खाना वितरण नगर्न सोमबार निर्देशन दिएको थियो। महानगरको सो कदमको व्यापक विरोध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।