काठमाडौं–मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी लमजुङ बेसीशहर नगरपालिका–३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–५ बस्ने ६३ वर्षीय चन्द्रबहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
घर सहयोगीको रुपमा राखेकी ६६ वर्षीया महिलालाई चन्द्रबहादुरले भारत पुर्याएर बेचेका थिए। बिरामी श्रीमतीलाई भारतमा उपचार गर्न लैजान लागेको र उनको स्याहारसुसारका लागि भारत जाउँ भन्दै ती महिलालाई चन्द्रले भारत पुर्याएका थिए ।
आर्थिक प्रलोभनमा पारी २०७६ पुस २ गते वीरगंजको रक्सौल हुँदै काेलकातास्थित मुकुन्दपुर पुर्याई यौन शोषण तथा जबरजस्ती करणी गरेको भन्ने मानब बेचबिखन तथा ओसारपसार मुद्दामा चन्द्रबहादुर फरार रहेका थिए।
फरार चन्द्रबहादुरलाई चितवन भरतपुर महानगरपालिका–५ तोरीखेत भन्ने ठाउँमा लुकिछिपी रहेको भन्ने विशेष सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको उक्त ब्यूरोले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।