काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ नेतृत्वका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले आ-आफ्नो प्यानल बनाएर मनोनयन दर्ता गराएका छन्। मंसिर ११ देखि काठमाडौंमा सुरु हुने महासंघको ५४औं साधारणसभा का लागि सोमबार दुवै समूहले मनोनयन दर्ता गराएका हुन्। ढकालले दसैं अगाडि नै मनोनयन दर्ता गराएका थिए भने प्रधानले सोमबार मात्र दर्ता गराएका हुन्।
गत वर्ष चैत २८ र २९ गतेका लागि तय भएको साधारणसभा कोरोनाका कारण पटक–पटक स्थगित हुँदै मंसिर ११ गतेदेखि १३ गतेसम्मका लागि तय भएको हो। साधारणसभाका लागि गृह मन्त्रालयले समेत सहमति दिएकाले मंसिरमा निर्वाचन हुने निश्चितप्राय छ।
ढकाल समूहको प्यानलेमा एसोसिएट उपाध्यक्ष पदका लागि रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ र जिल्ला/नगरतर्फ गुणनिधि तिवारीले उम्मेदवार मनोनयन गराएका छन्।
यसैगरी प्रधान समूहमा एसोसिएट तर्फको उपाध्यक्ष पदका लागि सौरभ ज्योति, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि दिनेश श्रेष्ठको उमेद्वारी मनोनयन दर्ता भएको छ।
महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने विधान अनुसार शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन्।
५४औं साधारण सभाबाट १ जना वरिष्ठ उपाध्यक्ष, एक जना एसोसिएट उपाध्यक्ष, एक जना वस्तुगत उपाध्यक्ष र एक जना जिल्ला/नगर उपाध्यक्ष चयन हुनेछन्।
महासंघको साधारणसभाबाट ६० जना कार्यकारिणी सदस्य चयन हुनेछन्। जसमा प्रत्येक प्रदेशबाट एक–एक जना गरी ७ जना, एसोसिएट तर्फबाट १८जना, वस्तुगतबाट १४ जना, जिल्ला नगरबाट १९ जना, द्विराष्ट्रियबाट १ जना र महासंघको संस्थापकहरुबाट १ जना सदस्य चयन हुनेछ।
प्रतिस्पर्धामा को को?
महासंघको ५४ औं साधारण सभाका लागि पदाधिकारीमा समूह बने पनि सदस्यका लागि भने समूह स्पष्ट खुलिसकेको छैन।
अध्यक्ष–शेखर गोल्छा (स्वत अध्यक्ष)
निर्वाचन हुने
वरिष्ठ उपाध्यक्ष– किशोर प्रधान र चन्द्र ढकाल (एक जना)
एसोसिएट उपाध्यक्ष– सौरभ ज्योति र रामचन्द्र संघाई (एक जना)
वस्तुगत उपाध्यक्ष– अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ (एक जना)
जिल्ला नगर उपाध्यक्ष– दिनेश श्रेष्ठ र गुणनिधि तिवारी (एक जना)
कार्यकारिणी सदस्य– ६० जना
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।