काठमाडौं- ‘पाँच मिनेट फुर्सद भएपछि अब म रियल मड्रिडको वेबसाइट हेर्छु, हेरौँ ग्यारेथ बेलप्रति अब उनीहरु के भन्छन्’, इंग्लिस क्लब टोटनह्यामका प्रशिक्षक जोसे मोउरिन्होले आइतबार राति ब्राइटनलाई हराएको खेलपछि यसो भने।
ब्राइटनविरुद्ध २-१ ले जितेको खेलमा ७०औँ मिनेटमा मैदान पसेका बेलले त्यसको तीन मिनेटमा नै गोल गरेका थिए, जसले टोटनह्यामको जित पक्का भयो। यसैले स्पेनिस क्लब रियल मड्रिडमा ‘असफल’ मानेर पन्छाइएका बेल अझै केही हुन् भन्ने शैलीमा मोउरिन्होले बोलेका थिए।
सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियल मड्रिड गएका बेल अहिले एक सिजनको लोनमा पुनः टोटनह्याम फर्किएका हुन्। मड्रिडमा रहँदा चार च्याम्पियन्स लिगसहित विभिन्न १३ उपाधि जिते पनि बेलको पछिल्ला वर्ष मैदानबाहिर नै बढी बितिरहेको थियो। जसमा प्रशिक्षक जिनेदिने जिदानसँगको ‘चिसो’ सम्बन्धलाई धेरैले कारक माने।
यसैले अहिले टोटनह्याम फर्किएपछिको पहिलो गोल र त्यसैको आधारमा मिलेको जितले बेलजति नै खुसी मोउरिन्हो देखिए। बेलमाथि उनको विश्वासको प्रमाण समेत गोलबाट मिलेको भानमा उनमा देखिन्छ। मड्रिडमा प्रशिक्षक रहँदा लिग र कोपा डेल रे जिताएका मोउरिन्हो पनि सुखद बिदाइ भएका थिएनन्।

‘म बेलसँग निकै खुसी छु, उनी सम्मानको हकदार पनि छन्। हामीले उनलाई विशेष ख्याल गर्छौं र सम्मान गर्छौं भन्ने उनलाई थाहा छ, उनले हामीलाई माया गर्छन् भन्ने पनि हामीलाई थाहा छ, यो टिम र क्लबप्रति उनको विशेष लगाव छ। उनी शान्त र पूर्ण छन्’ खेलपछि मोउरिन्होले भने।
‘क्लबमा आएपछि सुरुमा अभ्यासका क्रममा उनलाई केही गाह्रो भएको थियो, त्यसैले हामीले उनलाई चाहिने वातावरण र समय दियौँ’ मोउरिन्होले भनेका छन्।
सन् १९९९ मा साउथह्याम्टन युवा टिममा रहेर फुटबल सुरु गरेका बेलले २००६ मा सिनियर टिममा नै स्थान बनाएका थिए। त्यहाँबाट २००७ मा टोटनह्याम गएका बेल आफ्नो उत्कृष्ट खेल लयकै कारण २०१३ मा रियल मड्रिड पुगेका थिए।
टोटनह्यामका लागि पछिल्लो पटक उनले २०१२-१३ को सिजनमा सन्डरल्यान्डविरुद्ध अन्तिम समयमा उत्कृष्ट गोल गरेका थिए। अहिले ब्राइटनविरुद्धको हेडिङ गोलपछि धेरैले त्यसको सम्झना पनि गरिरहेका छन्। तर त्यो समयका युवा लयमा रहेका बेल र अहिले लामो समय बेन्चमा बिताएर फर्किएका बेलको तुलना त नहोला तर मोउरिन्होले भनेजस्तै उनले आलोचकलाई केही जवाफ भने दिँदै छन्।
केही समय बेन्चमा रहेर र केही सयम चोटका कारण सताइएर क्लब खेलमा आठ खेल गोलविहीन भएपछिको गोल बेलका लागि विशेष रह्यो। ‘मैले गएको जनवरीपछि गोल गरेको छैन तर जम्माजम्मी पाँच खेल त खेले हुँला, अहिले टोटनह्याम फर्किएपछि खुसी लागिरहेको छ, टिमसँग सम्बन्ध पनि राम्रो छ’ बेलले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।