काठमाडौं- केही दिन अघिसम्म स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानको समय मुस्किलमा देखिएको थियो। मैदानमा चाहेको लय नहुँदा उनी तनावमै थिए। तर पछिल्ला केही खेलले मड्रिडको आउँदो समय कोरिएको र जिदानले टिमको लय पत्ता लगाएको विश्लेषण भइरहेका छन्।
ला लिगामा ७ खेलमा ५ जित १ बराबरी र १ हारसहित १६ अंक रहेको मड्रिड दोस्रो स्थानमा छ। १७ अंकसहित शीर्ष स्थानमा रहेको रियल सोसिडाडले एक खेल बढी खेलेको छ। लिगमा नवप्रवेशी काडिजसँगको हार र च्याम्पियन्स लिगको खराब प्रदर्शनका कारण मड्रिड टिमको आलोचना भइरहेको थियो।
च्याम्पियन्स लिगमा शख्तर डोनेस्कसँग ३–२ ले हारेको रियल मड्रिड मोन्चेनग्लादबाखसँग २–२ को बराबरीमा रोकियो। नतिजाको हिसाबले मात्र होइन च्याम्पियन्स लिगमा मड्रिडको खेलसमेत हेर्नलायक देखिएको छैन। जहाँ लिगमा बार्सिलोनाविरुद्धको ३–१ को जित र हुएस्काविरुद्धको ४–१ को जितले मड्रिडले बाटो समाएको देखिन्छ।
चोटका कारण लामो समय मैदानबाहिर रहेका इडन हाजार्ड हुएस्काविरुद्धको खेलमा फर्किएकाले पनि जिदानको टिममा अहिले आत्मविश्वास बढेको छ। हाजार्ड स्वयमले पनि हुएस्काविरुद्धको उत्कृष्ट गोलसँगै आफ्नो लय भेट्टाएका छन्। जसले मंगलबार राति पौने २ बजे इन्टर मिलानसँग हुने च्याम्पियन्स लिग खेलमा मड्रिडले केही नयाँ गर्ने आश देखिन्छ।

हाजार्डसँगै करिम बेन्जेमा र मार्को एसेन्सियोमार्फत अग्रपंक्तीमा आश गरेका जिदानका लागि मिडफिल्डमा फेडे भालभर्देको उत्कृष्ट खेल विशेष छ। हुएस्काविरुद्धको सहज खेलका कारण जिदानले फेर्लान मेन्डी र टोनी क्रुसलाई आराममा नै राखिरहन पनि सकेका छन्। त्यसले इन्टर मिलानविरुद्ध जिदानले गर्न सक्ने प्रयोगमा छनोट बढेको छ।
च्याम्पियन्स लिगमा शख्तर डोनेस्क र मोन्चेनग्लादबाखसँगको खेलपछि रियल मड्रिड अघि बढ्नै मुस्किल हुने अवस्था देखियो। समूहमा एक अंक मात्र बनाएको रियल मड्रिड पुछारमा छ। यसैले इन्टर मिलानविरुद्धको खेल मड्रिडका लागि धेरै प्रश्नहरुको जवाफ हुनेछ। सुरुवाती ११ मा को राख्ने भन्ने दुविधा सकिएकाले पनि जिदानले देखिएका शंकाको जवाफ मैदानबाट दिने विश्वास समर्थकमा बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।