तनहुँ– विभिन्न मुद्दामा फरार रहेका २६ जना फरार प्रतिवादीहरुलाई तनहुँ प्रहरीले विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको छ।
बैंकिङ कसुर, चोरी, लागुऔषध, गाली बेइज्जती, सम्बन्धबिच्छेदलगायतका विभिन्न मुद्दाका २६ फरार प्रतिवादी एकै दिन पक्राउ परेका हुन्।
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ चैत २ गतेको फैसलाले ७ दिन कैद र ६ लाख ६७ हजार रुपैयाँ ठहर भई फरार रहेका म्याग्दे गाउँपालिका–३ बस्ने ३१ वर्षीय अमृत भट्टराई पनि पक्राउ परेका छन् ।
यस्तै साधारण चोरी मुद्दामा जिल्ला अदालत तनहुँको २०७६ असार ८ गतेको फैसलाले जनही २ वर्ष २ दिन कैद र २२ हजार ५ सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका शुक्लागण्डकी नगरपालिका–३ बस्ने सन्तोष खंग र सोही नगरपालिका–९ बस्ने माईकल भन्ने सन्तोष गौतम पनि पक्राउृ परेका तनहुँ प्रहरीले जनाएको छ ।
जिल्ला अदालत तनहुँको २०७१ मंसिर ७ गतेको फैसलाले जनही १/१ महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका भानु नगरपालिका–६ बस्ने बिमल थापा मगर र उनकै श्रीमती सञ्जु थापा मगर पनि पक्राउ परेका छन् ।
उनीहरूका साथै लागुऔषध मुद्दामा फरार १ जना, गाली बेइज्जती मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार २ जना, नाता कायम मुद्दामा फरार १ जना, करकाप मुद्दामा फरार ८ जना, लिखत वेइज्जती मुद्दामा फरार ६ जना, सम्बन्धबिच्छेद मुद्दामा फरार १ जना गरी जम्मा २६ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
सबै जनालाई तोकिएको जरिवाना तथा कैद भुक्तानका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।