शान्त आकाशमा
एकटकले टल्किरहेको जून
वा पिल्पिलाइरहेका ताराहरूलाई
नियाल्दै गर्दा मनको अन्तरकुन्तरबाट
निस्कने भावनाका खहरेहरूलाई
एकत्रित पारेर सोचमा डुब्ने
सानो उपक्रम गरिहेर्नूस् त!
जगत र जीवनका चरम र अकल्पनीय सम्बन्धलाई
केलाएर हेर्ने सानो प्रयास गरि हेर्नूस् त!
डिम्बाशयको अन्तरकुन्तरभित्र कहीँकतै
सल्बलाइरहेको एउटा सानो डल्ले तन्तुको
चेपागाँडा जस्तो सुलुलुलु बगिरहने
अस्थिर र चञ्चल लाम्पुच्छ्रे तन्तुसँग
भेट नभएको भए
वा मिलन भएर पनि निषेचन हुँदै
भ्रुण नबनेको भए
यो ज्यानको गति के हुन्थ्यो होला?
हदै भए मासिक रजस्वालासँगै
रगतका फाल्साहरुका बीचमा पौँठाजोरी खेल्दै
त्यही अँध्यारा सुरुङहरूबाट
ह्वार्ह्वार्ती निस्केर
कपडाका टालाहरुसँग लत्पतिँदै
पोको पारिएर
कुनै डम्पिङ्ग साइटमा
मिल्काइएको हुन्थ्यो।
भ्रूणमा रुपान्तरण भइसकेपछि पनि
डिम्ब नलीमा अड्केर बसेको भए,
निश्चित अवधिभित्र गर्भाशयमा झरेर
मिल्दै नबसेको भए
डिम्बनली प्वाट्ट फुटाएर
छताछुल्ल परिदिने थियो।
टुसाउने उपक्रममा
रुमल्लिइरहेको फगत यो जिन्दगी
‘अस्वाभाविक गर्भधान’को नाममा
विशेषज्ञको निर्मम शल्यक्रियाको
घातक शिकार भइसकेको हुने थियो।
निष्ठुर र अविवेकी आमाबाउ परेका भए
गर्भाशयमै पानीका बीचमा सल्बलाउँदै
सालनालले जेलिएर रमाइरहेको
त्यो सानो प्युसो पनि
‘विना योजनाको गर्भ’ ठानेर
गर्भपातको मारमा परेको भए
कुनै खाल्डोमा पुरिएर कुहिँदै
माटोमा विलीन भइसकेको हुने थियो।
अंग उत्पन्न र विकास हुने क्रममा
थोरै मात्र तल माथि हुँदो हो त
यत्तिका सुक्ष्म तन्तुको
अद्वितीय संयोजनको यो शरीर
कतै न कतै विकलांग भएर जन्मिँदो हो
जसले बाँकी सारा जीवनयापनमा
अकल्पनीय असर निम्त्याएर
उथलपुथल पारि सकेको हुने थियो।
चालीसौं हप्ताको
कठोर योगसाधना पश्चात्
सहृदयीहरुको मुहारमा
खुसीको बहार सँगसँगै
च्याहाँ! च्याहाँ! गर्दै
धर्तीमा पदार्पण गरेपछि पनि
जिन्दगीका उतार-चढाव र अँध्यारा उज्यालोहरूसँग
जुध्दै र लड्दै, घिस्रँदै र दौडँदै, पौडँदै र बहँदै
रोग, भोक र शोकहरू खप्दै र झेल्दै
गन्तव्य उन्मुख छ।
अप्राप्य, अद्वितीय, अतुलनीय, अकल्पनीय र जटिल यो ज्यान।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।