काठमाडौं- स्पेनिस ला लिगामा अलाभेससँग बराबरी खेलेपछि बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले गोलमा नदेखिएको नतिजाका कारण आफू चिन्तित रहेको बताएका छन्। आइतबार राति भएको खेलमा अलाभेससँग १–१ को बराबरी हुँदा २५ सट प्रहार गरे पनि बार्सिलोनाको अवस्था सहज देखिएन।
खेलमा ६२ मिनेटपछि १० जनामा सीमित हुँदासमेत अलाभेसविरुद्ध बार्सिलोनाको अट्याक गोलमा देखिएन। ३१ औँ मिनेटमा गोलकिपर नेटोको असाबधानीका कारण गोल खान पुगेको बार्सिलोनाका लागि ६३औँ मिनेटमा ग्रिजम्यानले बराबरी गोल गरेका थिए। त्यसपछि लगातार पोस्टमा बल बढाए पनि गोल गर्न सकेन।
बार्सिलोना लिगमा पछिल्ला चार खेलमा जितविहीन रहेको हो। सेभियासँग १–१ को बराबरी खेलेपछि बार्सिलोना गेटाफेसँग १–० ले हारेको थियो। त्यसपछि रियल मड्रिडसँग ३–१ ले हारेको थियो। अहिले अलाभेसँगको १–१ को बराबरीपछि बार्सिलोनाले लिगमा सम्भावित १२ अंकमा २ अंक मात्र जोड्न सकेको छ।
अलाभेससँगको खेलमा बार्सिलोनाले ८० प्रतिशत समय बलमा नियन्त्रण बनाएको थियो। बार्सिलोनाले २५ सट प्रहार गर्दा ९ सट पोस्टको दिशामा थियो तर पनि गोलमा पहिले जस्तो सफल देखिन सकेको छैन। कप्तान लियोनल मेस्सी समेत गोलमा कमजोर बनिरहेका छन्। यसैले प्रशिक्षक कोम्यानले गोलको अवस्थाले चिन्तित रहेको बताएका छन्।
‘अट्याकमा हाम्रो खेलको अवस्थाले चिन्तित छु। यो खेलको लगावमा भएको कमिका कारण पनि होइन, तर यो गोलमा विश्वस्त हुन सक्ने अवस्थाको कमि हो। यस्तो अवस्था च्याम्पियन्स लिगमा युभेन्टससँग पनि देखिएको थियो। यति धेरै गोलमा अवसर बनाएर पनि मिस हुनु राम्रो होइन’ उनले भनेका छन्।
‘हामीले गोलमा राम्रो खेल्न सकिरहेका छैनौँ, अन्तिम पास र अन्तिम सट राम्रो भइरहेको छैन। यति धेरै अवसर खेर फाल्नु हुँदै हुँदैन। हामीले पछिल्लो १२ अंक जित्नसक्ने ठाउँमा २ अंक मात्र जोड्न सकेका छौँ, त्यसले चिन्तित छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।