लन्डन- बेलायतले क्रिसमसअघि नै एक महिनासम्म लकडाउन गर्ने तयारी गरेको सार्वजनिक भएको छ। कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोन्सनले यस्तो तयारी गरेको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ। क्रिसमस हरेक वर्ष डिसेम्बर २५ मा मनाइन्छ।
बिबिसीका अनुसार संभवतः सोमबार प्रधानमन्त्री जोन्सनले लकडाउन घोषणा गर्न सक्नेछन्। कोरोनाको पहिलो चरणमा भन्दा दोस्रो चरणमा थप जोखिम हुन सक्ने अध्ययनले देखाएको भन्दै बेलायतले यस्तो तयारी गरेको आफूहरूलाई प्राप्त रिपोर्टमा उल्लेख गरिएको बिबिसीको भनाइ छ।
गत बसन्तयाममा कोरोना संक्रमणमको पहिलो चरणमा बेलायतमा दैनिक करिब १ हजार मानिसले ज्यान गुमाएका थिए। तर केही समयपछि यो संख्या क्रमशः घट्दै गएको थियो। तर पछिल्ला दिनमा बेलायतसँग अन्य युरोपेली देशमा पनि संक्रमितको संख्या बढ्न थालेको छ।
कोरोनाको संक्रमण पुनः बढ्न थालेपछि बेल्जियम, फ्रान्स र जर्मनीलगायतका युरोपेली देशले पनि नयाँ स्वरूपको लकडाउनलाई निरन्तरता दिन थालिसकेका छन्।
बेलायतमा एक अध्ययनले डिसेम्बर महिनामा संक्रमितको संख्या उच्च हुने र अस्पताल भर्ना गर्नुपर्ने बिरामीकी संख्या पनि त्यतिकै संख्यामा बढ्ने उल्लेख गरेको थियो। अक्टोबर २८ मा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा प्रदायक संस्था एनएचएसले पनि क्रिसमसका बेला बिरामीको संख्या बढे उनीहरूलाई सेवा प्रवाहमा कठिनाइ हुने भन्दै थप तयारी गर्न सुझाव दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।