महोत्तरी–महोत्तरीसहित मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन शुक्रबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ।
मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन नवदम्पतीको ‘चुमाउन’ विधि गरिने परम्पराअनुसार गएराति यो विधि सम्पन्न गरिएको हो।
मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मणहरुमा प्रत्येक दुई कोजाग्रत पूर्णिमाका बीच विवाह भएका जोडीबीच यो विधि मनाउने परम्परा रहेको छ। यद्यपि कायस्थ र सोनार जातिमा पनि यो विधि प्रचलन छ। यस विधिका लागि बधु पक्ष (दुलहीका माइती) ले बस्त्रआभूषण, मिष्टान्न खाद्य परिकार लिएर दुलाहाका घर आउने चलन छ। विधिमा दुलाहा–दुलहीलाई नयाँ बस्त्र आभूषण पहि¥याउने, दुलाहाका पक्षधरलाई मिष्टान्न भोजन गराउने परम्परा रहेअनुसार यो विधि सम्पन्न गरिएको महोत्तरीको भङ्गाहा नगरपालिका–४ का मैथिल ब्राह्मण चन्द्रकान्त झाले बताए।
चुमाउन विधिमा दुलहीका माइतीले बस्त्र आभूषण, थरिथरिका मिष्टान्न परिकार, मौसमअनुसारका फलपूmल र दहीका बेग्लाबेग्लै भार (सोली) भेटका लागि ल्याउनुपर्ने चलन छ । दुलाहा–दुलहीमात्र नभई दुलाहाका बाबु–आमा, दिदी–बहिनी र अन्य आफन्तलाई समेत बस्त्र आभूषण पहिर्याएर भोजन गराउनुपर्ने भएकाले यो विधि अब महँगो र झन्झटिलो बन्दै गएको टिप्पणी नयाँ पुस्ताका युवाले गर्न थालेका छन्।
विधिमा खर्च जति दुलहीका माइती पक्षकाले गर्नुपर्ने र आमन्त्रित पाहुनाको खटनपटन दुलाहा पक्षकाले गर्ने हुँदा यो विधि महँगो हुँदै गएको महोत्तरीकै बर्दिवास नगरपालिका–२ का ३० वर्षीय युवा जितेन्द्र झाले बताए। विगतमा सम्बन्ध गाँसेका दुवै पक्षका आफन्तबीच चिनजान बढाउने, आत्मीयता बढाउने र दशैँ पर्व सम्पन्न गरिएको खुसी बाँड्ने उद्देश्यले शुरु गरिएको यो विधिमा सामान्य रुपमा बरबधुलाई धोती फेराउने, पान मखान (पानीमा फल्ने तराईको फलविशेष) प्रसादस्वरुप खुवाउने परम्परा रहेको पाका मैथिल बताउँछन् ।
तर पछिल्ला केही दशकयता ‘चुमाउन’मा दुलहा पक्षले सयौँ आफन्त बोलाएर रवाफ देखाउने, दुलहीपक्षसँग खासखास आभूषणको माग गर्ने विकृति बढेपछि यो विधि विवाहजस्तै खर्चिलो हुने गरेको नयाँ पुस्ताका युवाको टिप्पणी छ । ‘‘बाबु पुर्खाले राम्रो उद्देश्यले शुुरु गरेका ‘चुमाउन’ पछिल्लो एक दशकयता दाइजोको रुपमा फेरिएको छ’’, महोत्तरीकै सम्सी गाउँपालिकाको गेढाभेट्पुरका आलोक झाले भने, ‘‘यो रवाफिलो बन्दै गएको विधिलाई अब बाबु पुर्खाले गर्ने गरेका सामान्य रुपमा फेर्न आवश्यक छ ।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।