काठमाडौं- यसपाली मुलुकमा दसैंको मुख्य दिनमा ठूला दुर्घटनाहरू नहुनुका साथै आपराधिक घटनामा समेत कमी आएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आवागमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो। प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत यसपटकको दसैंको मुख्य पाँच दिनको विवरण हेर्दा ठूलो तथा गाह्रो अवस्था सिर्जना हुने घटना नभएको बताउँछन्। सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा प्रहरी र कुकुर तथा ड्रोनसमेतको प्रयोग गरिएकाले पनि त्यस्ता घटना रोक्न सफल भएको उनको दावी छ।
दसैंको मुख्य दिन कात्तिक ७ देखि ११ गतेसम्मको प्राप्त विवरणअनुसार यसपाली करणीसम्बन्धी ४ वटा घटना दर्ता भएको छ। कर्तव्य ज्यानका ११, चोरीका १६ घटना दर्ता भएको कडायतले बताए। यस्तै यो अवधिमा ३३४ सवारी दुर्घटना भएका छन्। उक्त दुर्घटनाका कारण ४३ को मृत्यु भएको र ५१९ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। समग्रमा दसैंको समयमा सबै घटनाहरु न्युन रहेको प्रहरीले जनाएको छ। यसबीचमा ठूला दुर्घटना पनि हुन पाएन। सवारी साधन समेत अत्यन्त न्यून रुपमा सञ्चालन भएको थियो।
गत वर्ष दसैंको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिनमा चोरीका ६६ र करणीसम्बन्धीका ५० घटना भएको अभिलेख छ। उक्त अवधिमा ७०० सवारी दुर्घटनामा १११ को मृत्यु भएको थियो। काठमाडौं उपत्यकामा पनि सवारीसम्बन्धी ठूला घटना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखा प्रमुख भीमप्रसाद ढकालले उपत्यकाको तीन जिल्लामा २९४ सवारी दुर्घटनामा ९ को मृत्यु भएको र २७८ जना घाइते भएको जानकारी दिए।
अघिल्लो वर्ष भने ४०० भन्दा बढीको दुर्घटना भएको थियो। त्यसमा १० जनाको मृत्यु र ३१८ जना घाइते भएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।