पोखरा–रुखबाट लडेर गम्भीर घाइते भएका म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा तीन लाख रुपैयाँ सहयोग जुटेको छ। यही कात्तिक ५ गते रुखबाट लडेका २२ वर्षीय अवतार रिजालको हाल पोखरा फेवासिटी अस्पतालमा उपचार भइरहेको छ।
रिजालको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान सुरु गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटी पीप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन अभियानअन्तर्गत मंगलवारसम्म प्राप्त रु २ लाख ९१ हजार ६५५ रिजालको परिवारलाई हस्तान्तरण गरिएको छ ।
अस्पतालमा औषधोपचारमा रकम आवश्यक परेपछि संकलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको र अभियानलाई निरन्तरता दिइएको नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखाका सभापति तारानाथ शर्माले जानकारी दिए।
संकलित रकम मंगलबार उपचाररत रिजालका बुबा रुद्रलाई वडाध्यक्ष जीवनकुमार मल्ल र उपशाखाका सभापति शर्मा सहितको टोलीले हस्तान्तरण गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।