काठमाडौं– दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ।

आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन्। गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।