काठमाडौं- वान टु वाच, एन एम बि बैंक, लक्ष्मी बैंक र स्वीस सरकार बिकास सहयोग एसडिसीबीच लघु, साना तथा मझौला व्यवसायहरुलाई सहयोग गर्ने साझेदारी भएको छ। स्वीस सरकार बिकास सहयोग ‘एसडिसिको सहयोगमा वान टु वाचले एन एम बि बैंक र लक्ष्मी बैंक संग साझेदारी गरि कोभिड १९ एमएसएमई कोषको घोषणा गरेको छ।
यो कोषको मूल उद्देश्य कोभिड–१९ बाट प्रभावित लघु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ। यो कोषबाट व्यवसायहरुलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसायअनुकूल परामर्श र तालिम पनि प्रदान गरी व्यवसायको दीर्घायु निरन्तरतामा सहयोग पुर्याउन र रोजगारी जोगाउन मद्दत गर्नेछ।
यो कोषद्वारा करिब १०० व्यवसायलाई सहयोग पर्याउने र करिब एक हजार रोजगारी जोगाउने अपेक्षा गरिएको छ। यसअन्तर्गत कोभिड- १९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितोरहित कर्जा र १८ महिनासम्मको लागि ब्याज पनि मिनाहा गरिनेछ। त्यसैगरी त्यी व्यवसायहरूमध्ये छनौटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्नेछन्।
‘यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरी सहयोग गर्नेछ। आशा छ कि यो पहल एक “पायलट/प्रयोगात्मक हुनेछ‚ जसमा अरु बैंक साझेदारहरु को सहभागिता बढ्दै जानेछ‚’ वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशीले भने।
‘लघु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड हुन्। यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्छन्। नवीनताका चालक हुनुका साथै नयाँ रोजगारी पनि प्रदान गर्दछन्। तसर्थ, यी व्यवसायहरुको आर्थिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो जग खडा गर्न सकिनेछ। लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडिसीले निजी क्षेत्रसँगको साझेदारीमा गरिने यस पहललाई सहयोग गर्दा गर्व महसुस गरेका छौँ।’ नेपालका लागि स्विस राजदूत एलिजाबेथ भोन क्यापेलरले भने।
‘हामी एक खुद्रा एमएसई केन्द्रित बैंक हौँ, हामी आशावादी छौं कि यो सहकार्यले ऋणयोग्य साना उद्यमीहरुलाई बैंक ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जिविका चलाउन सहयोग पुर्याउनेछ। हाम्रो धारणा यो छ कि एमएसईहरुलाई यो समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पुर्याउनेछ।’ लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले भने।
‘एनएमबी बैंकको प्राथमिकता भनेको दिगो बैकिङ्ग हो र एमएसएमई नै अर्थतन्त्रको दिगो वृद्धिको प्रमुख चालक हुन भन्ने हाम्रो धारणा हो। सम्पूर्ण व्यासायिक क्षेत्रहरु विशेषगरी एमएसएमई अहिले कमजोर छ र घाटा व्यहोरी राखेको छ। यस्ता व्यवसायहरुको पुनरूद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैकंको रुपमा अति प्रभावित व्यवसायलाई धितोरहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ। एनएमबी बैंकले यस्तो अन्य पहलहरूलाई समर्थन प्रदान गर्न प्रतिबद्ध छ।’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।