काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ। सिटीले पोर्चुगलको पोर्टोलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।
समूह ‘सी’ मा रहेको सिटीले पोर्टोमाथि सहज जित निकाल्यो। घरेलु टोली सिटीका लागि सर्जियो अगुएरो, इल्के गुन्डोगन र फेरान टोरेसले गोल गरे। पोर्टोका लुइस डियाजले गोल गरे। खेलको १४ औं मिनेटमा नै लुइसले गोल गर्दै पोर्टोलाई अग्रता दिलाए। तर पोर्टोले आफ्नो अग्रतालाई धेरै समयसम्म टिकाई राख्न सकेन। खेलको २० औं मिनेटमा सर्जियो अगुएरोले पेनाल्टीबाट गोल गर्दै सिटीलाई १–१ गोलको बराबरीमा ल्याए।
पहिलो हाफसम्म १–१ गोलको बराबरी खेलेको सिटीका लागि ६५ औं मिनेटमा गुन्डोगनले गोल गर्दै २–१ को अग्रता दिलाए। ७३ औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई ३–१ गोलको जित दिलाए।
त्यस्तै, यसै समूहमा भएको खेलमा ओलम्पियाकोसले मार्सेलीलाई १–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।