काठमाडौं–डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ। समूह ‘ए’ मा रहेको जर्मन क्लब बायर्नले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० गोलअन्तरले पराजित गरेको छ।
घरेलु टोली बायर्नको जितमा किंग्सले कोमनले दुई गोल गर्दा लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान १–१ गोल गरे। खेलको पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्दै च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको हो। खेलको २८ औं मिनेटमा कोमनले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।
खेलको ४१ औं मिनेटमा गोरेट्जकाले गोल गर्दै बायर्नलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाए। खेलको ६६ औं मिनेटमा टोलिसोले गोल गर्दा बायर्नले ३–० गोलको अग्रता लियो। बायर्नविरुद्ध दबाबमा खेलेको एथ्लेटिको मड्रिडले दोस्रो हाफमा पनि गोल गर्न सकेन। ७२ औं मिनेटमा कोमनले गोल गर्दै बायर्नलाई ४–० गोलको जित दिलाए।
समूह ‘ए’ अन्तर्गत नै भएको अर्को खेलमा साल्सबर्गले लोकोमोटिभ मस्कोसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।