काठमाडौं–इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको छ। लिभरपुलले नेदरल्याड्सको आयाक्सविरुद्ध १–० गोलको कठिन जित निकालेको हो।
घरेलु टोली आयाक्स कै गल्तिको कारण लिभरपुलले जित निकालेको हो। आयाक्सका निकोलस टाग्लिफिकोले आत्मघाती गोल गरेपछि लिभरपुलको जित सम्भव भएको हो। खेलको ३५ औं मिनेटमा आयाक्सले आत्मघाती गोल गर्न पुग्यो। साडियो मानेले प्रहार गरेको क्रसलाई रोक्न खोज्दा आफ्नै पोष्टमा निकोलसले गोल गर्न पुगे। उनको त्यो आत्मघाती गोल नै आयाक्सको हारको मुख्य कारण बन्यो।
समूह ‘डी’ कै अर्को खेलमा एटलान्टाले मिड्जेल्यान्डलाई ४–० गोलअन्तरले पराजित गरेको छ। घरेलु टोली मिड्जेल्यान्डविरुद्ध पहिलो हाफमा तीन गोल गरेको एटलान्टाले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो।
पहिलो खेलमा नै ४–० गोलको जित निकालेको एटलान्टाले अंक बनाएर समूह ‘डी’ शीर्ष स्थानमा रहेको छ भने लिभरपुलले पनि आफ्नो पहिलो खेलमा जित निकाल्दै तीन अंक नै बनाएको छ। आयाक्स र मिड्जेल्यान्ड भने अंक विहीन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।