काठमाडौं- च्याम्पियन्स लिगमा युक्रेनको क्लब शख्तर डोनेस्कले स्पेनिस क्लब रियल मड्रिडलाई ३–२ ले हराएको छ। कोरोना भाइरस (कोभिड १९) का कारण मुख्य १३ खेलाडी अनुपस्थित रहेको शख्तरले १३ पटकको च्याम्पियन्स लिग विजेता रियल मड्रिडलाई उसैको मैदानमा हराएको हो।
कोरोनाका कारण शख्तर डोनेस्कका १९ खेलाडी आइसोलेसनमा रहेकाले टिम समस्यामा थियो। जसमा ७ खेलाडी त सुरुवाती ११ मा पर्ने प्रमुख खेलाडी नै थिए। त्यसबाहेकका खेलाडी पनि परिवर्तनका लागि आवश्यक पहिलो रोजाइँका खेलाडी नै थिए। रियल मड्रिडविरुद्ध बी टिमका खेलाडी मिसाएर टिम ल्याएको शख्तरले उत्कृष्ट खेल देखाउन सक्यो। शख्तरले पहिलो हाफमा नै ३ गोलको अग्रता बनाएको थियो।
आठ खेलाडी २३ वर्षभन्दा कम उमेरको रहेको शख्तरले रियल मड्रिडविरुद्ध खेलको २९औँ मिनेटमा अग्रता बनायो। शख्तरका लागि लेमोस मार्टिन्सले गोल गरेका थिए। ३३औँ मिनेटमा मड्रिड डिफेन्डर भारानले आत्मघाती गोल गर्न पुगे। ४२औँ मिनेटमा सोलोमनको गोलमा शख्तरले अग्रता तेब्बर बनायो।

दोस्रो हाफमा केही सम्हालिएको रियल मड्रिडले २ गोल गर्न सक्यो। ५४औँ मिनेटमा लुका मोडरिक र ५९औँ मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए। मड्रिड टिमका महत्वपूर्ण डिफेन्डर सर्जियो रामोस र ड्यानी कार्भाजल चोटका कारण टिममा थिएनन्। खेलपछि मिडफिल्डर लुका मोडरिकले आफूहरुमा आत्मविश्वासको कमि रहेको बताए।
शख्तर डोनेस्क सन् १९९९ पछि रियल मड्रिडलाई हराउने पहिलो युक्रेनको टिम हो। त्यसबेला डायनामो किभले रियल मड्रिडलाई २–० ले हराएको थियो।
घरेलु मैदानमा यो मड्रिडको लगातार दोस्रो हार हो। यसअघि ला लिगामा नवप्रवेशी क्लब काडिजसँग रियल मड्रिड घरेलु मैदानमा नै १–० ले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।