काठमाडौं– त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने थप एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उपप्राध्यापक चलाउनेलाई कुटपिट गर्ने थप एक जनालाई मंगलबार बुटवलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा निरज रानामगर छन् ।
यसअघि काठमाडौं परिसरले नै सूर्यविनायक र सिरहाबाट एक-एक जना गरी दुई जनालाई पक्राउ गरेको थियो । सिरहाबाट रविन लामा पक्राउ परेका थिए भने सूर्यविनायकबाट रुपेश साह। योसँगै उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने समूहका तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाहरु विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरु नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ता हुन् ।
त्रिविमा अध्यापनरत चलाउनेमाथि यही असोज २० गते कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते चलाउनेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।
त्रिवि परिसरमै रहेको नेपाल बैंक लिमिटेडको शाखा कार्यालयबाट विभागतर्फ गइरहेका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो। त्यसबेला दुई वटा मोटरसाइकलमा आएका व्यक्तिहरुले उनीमाथि रडले आक्रमण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।