काठमाडौं– इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा युनाइटेडले पिएसजीलाई २–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको हो।
पिएसजीलाई युनाइटेडले उसैको मैदानमा पराजित गरेको हो। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कुस राष्फोर्डले गोल गरे। पिएसजीले एक गोल भने उपहारस्वरुप पाएको थियो। समूह ‘एच’ मा रहेको पिएसजीले अधिकांश समय बल नियन्त्रणमा राखे पनि हार ब्यहोरेको हो। खेलको २३ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई १–० गोलको अग्रता दिलाए। पिएसजीका अब्डोउ डियालोले एन्थोनी मार्सियललाई पेनाल्टी एरियामा फोउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको युनाइटेडले खेलको ५५ औं मिनेटमा भने आत्मघाती गोल गर्न पुग्यो। मार्सियलले आत्मघाती गोल गरेसँगै पिएसजीले १–१ गोलको बराबरी बनाएको थियो। तर खेलको ८७ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई २–१ गोलको जित दिलाए।
समूह ‘एच’ मै भएको अर्को खेलमा लाइपजिगले स्तानबुल बासाकेसिरलाई २–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।