कैलाली- धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ का रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन्।
उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ। गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज समेत रहेका विक र प्रहरी जवान बेपत्ता भएका थिए। उनीहरुलाई राती १० बजे सम्पर्क गर्दासमेत फोन नलागेपछि बिहानसम्म प्रतीक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो।
खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक विकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका-१० को नेपाल–भारत सीमास्थित मोहना नदीमा भेटिएको थियो। घाँटीमा धारिलो हतियार प्रहार गरी बिभत्स हत्या गरेको अवस्थामा विक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो।
प्रहरीका अनुसार विकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो। उनीहरु सवार बा.५८ प ५२८४ नम्बरको मोटरसाइकल भने घटनास्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरीक्षक विकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको छ।
कञ्चनपुरको पुर्नवास नगरपालिका स्थायी घर भएका प्रहरी सहायक निरीक्षक विक ४ वर्षअघि नेपाल प्रहरीको सेवा प्रवेश गरेका थिए। भूमीहीन परिवारमा जन्मिएका विकका श्रीमती, ६ वर्ष र २ वर्षका छोरी छन्। ५ वर्षको उमेरमा बुवा गुमाएका विककी ५० वर्षीया आमा छन्। उनका एक दाजु र एक भाइ छन्।
यस्तै अछामको बान्नीगढीजयगढ गाउँपालिका-५ निवासी साउद २०६७ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। २ वर्षदेखि कैलालीमै कार्यरत साउदका श्रीमती, ३ र ८ वर्षीया २ छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।