काठमाडौँ- नेपाल राष्ट्र बैंकले कर्मचारीको ३० वर्षीय कार्यकाल सीमा हटाएर ५८ वर्ष उमेर कायम गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले ३० वर्षीय कार्यकालको व्यवस्था हटाएर थप रायसल्लाहका लागि लोकसेवा आयोगलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिए। बैंकमा कार्यरत कर्मचारी भने ३० वर्षीय सेवावधि हटाउन नहुने पक्षमा थिए। निजामती सेवामा कर्मचारीको उमेर हद ५८ वर्ष रहेकाले समान बनाउने लक्ष्यका साथ बैंकले उक्त निर्णय गरेको हो।
कर्मचारीको मागको सुनुवाइ गर्न बैठकले सञ्चालक समिति सदस्य रामजी रेग्मीको संयोजकत्वमा दुई डेपुटी गभर्नर र प्रवक्ता पौडेल सदस्य रहेको समितिसमेत गठन गरेको छ। उमेर हद हटाउँदा कर्मचारीको वृत्ति विकासमा पर्ने असरको न्यूनीकरणका लागि अध्ययन गर्न गठित समितिले राष्ट्र बैंकको प्रस्तावित संघीय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।