काठमाडौं–दसैंमा बिक्रीका लागि उपत्यकामा भित्राईएका खसी–बोका र भेडा–च्याङ्ग्रामा कुनै महामारी रोग रहे–नरहेको बारे थाहा पाउन काठमाडौं महानगरपालिकाले मंगलबारबाट रगतको नमूना संकलन र परीक्षण थालेको छ।
टुकुचास्थित खसी बजारमा खोटाङ, नेपालगञ्ज, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लाबाट ल्याइएका खसी बोका र मनाङबाट ल्याइएको च्याङ्ग्राको रगत नमुना लिई स्वास्थ्य परीक्षण सुरु गरिएको हो।
‘स्वच्छ मासु र पशुजन्य खाद्यवस्तुका लागि हामीले पशु, पशुजन्य पदार्थ र उत्पादन सामग्रीको नमूना संकलन र परीक्षण थालेका हौं,’ नमूना लिँदै महानगरको पशु सेवा महाशाखाका प्रमुख डा अवधेश झाले भने, ‘अहिले लिइएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपीआरलगायत रोग परीक्षण गर्छौं। यसबाट कुन—कुन जिल्लाका पशुमा कस्ता—कस्ता खालका समस्या छन् भन्ने थाहा पाउन सकिन्छ।’
यसरी खसी बोकाको स्वास्थ्य परीक्षण गर्ने काम दसैंतिहार लक्षित कार्यक्रम मात्र हो वा नियमित चल्छ? भन्ने जिज्ञासामा डा झाले भने, ‘नमूना संकलन र परीक्षण हाम्रो वार्षिक स्वीकृत कार्यक्रम हो। यो नियमित हुन्छ। अहिले रगतको नमूना लिएका छौं। हामी मासु, अण्डा, दानालगायत पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको संकलन र परीक्षण गर्छौं।’
नमूना संकलनका लागि महानगरले संघ सरकारअन्तर्गतको पशुसेवा विभाग, प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग समन्वय गरेको छ ।
यससँगै चौपायाको स्वास्थ्य परीक्षण गरेर निरोगीको सिङमा हरियो र रोगीको सिङमा रातो रङ्ग लगाइने गरिएको छ।
डा झाका अनुसार आज लिइएको नमूनाको नतिजा आउन ४ दिन समय लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।