डडेलधुरा–कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्यामा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। विकको शव धनगढी उपमहानगरपालिका १० को नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो।
‘विकको घाँटी रेटी हत्या गर्ने कार्यमा संलग्न गिरोहका आधा दर्जनभन्दा बढी व्यक्तिहरु पक्राउ परिसकेको स्रोतले जनाएको छ। ‘केही व्यक्ति अझै पनि फरार रहेकाले खोजी तीव्र बनाईएको छ, सकभर आज साँझ सम्म सबै पक्राउ पर्छन्,’ प्रहरी स्रोतले भन्यो।
पक्राउ परेका अधिकांशले विकको हत्या गरेको स्वीकारेको प्रहरी स्रोत बताउँछ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिंहले पनि अपराधीको नजिक पुगेको बताएका छन्। उनले साँझसम्म परिणाम देखिने बताए। शनिबार राति नियमित गस्तीमा निस्केका प्रहरी सहायक निरीक्षक विकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो ।
उनको उच्च सम्मानसहित सोमबार कञ्चनपुरको दोदा घाटमा अन्त्येष्टि गरिएको छ। विकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ। साउदको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।