सप्तरी–सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवामा थारू सांस्कृतिक संग्रहालय भवन निर्माण भएको छ।
थारु समुदायको ऐतिहासिक रहनसहन, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले स्थापना गर्न लागिएको सो संग्रहालय भवनको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले सोमबार उद्घाटन गरे।
एक कठ्ठा क्षेत्रफलमा रु ६८ लाख ७५ हजारको लागतमा दुई तलाको संग्रहालय भवन निर्माण भएको पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिले जनाएको छ। समितिका अध्यक्ष बच्चुलाल चौधरीका अनुसार वन तथा वातावरण मन्त्रालयबाट प्राप्त रु ५५ लाखको विशेष आर्थिक सहयोग तथा जनश्रमदानबाट रु १३ लाख ७५ हजार गरी कूल रु ६८ लाख ७५ हजारमा सो भवन निर्माण भएको हो ।
सो अवसरमा नगरप्रमुख वसन्त मिश्रले थारू जातिको कला, संस्कृतिको संरक्षणका लागि साँस्कृतिक सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने र नगरकै आर्थिक समृद्धिमा योगदान दिने आशा व्यक्त गरे। थारु समुदायको परम्परागत रहनसहन, रीतिरिवाज, कला, संस्कृति संरक्षण गर्नुपर्नेमा बताउँदै उहाँले परम्पराका नाममा हुने हानिकारक चलन भने छाड्न आग्रह गरे।
साढे दुई वर्षअघि २०७५ वैशाखमा थारू कला, संस्कृति, परिकार र पहिचानको जगेर्ना गर्नुपर्छ भन्दै थारू अगुवाको पहलमा उक्त ठाउँमा आठवटा घरवास थालनी भएको छ । आफ्नो भाषा, वेषभूषा, कला, संस्कृति अमूल्य सम्पत्ति भएको र यसको संरक्षणमा आफैँ लाग्नुपर्छ भन्ने सोचले घरवासपछि थारू सांस्कृतिक सङ्ग्रहालय सञ्चालन गर्न लागिएको महिकर चौधरीले बताए।
नजिकै कोशीटप्पु वन्यजन्तु आरक्ष, त्रियुगा र सप्तकोशी नदी, चन्द्रशम्सेरले बनाएको नेपालकै जेठो चन्द्र नहर, प्रसिद्ध धार्मिकस्थल चतरा र बराह क्षेत्र, सामुदायिक वन, चुरे क्षेत्र रहेकाले घरवास र सङ्ग्रहालयलाई आयआर्जनको आधार बनाएर सांस्कृतिक हबका रूपमा विकास गर्न खोजिएको स्थानीय थारू अगुवाहरु बताउँछन् ।
थारू समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागत रुपमा प्रयोग गर्ने वस्तु सङ्ग्रहालय राखिने बताइएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।