काठमाडौं- इंग्लिस प्रिमियर लिगमा लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइकविरुद्ध खराब ट्याकल गरेका इभर्टनका गोलकिपर जोर्डन पिकफोर्डलाई कुनै कारबाही नहुने भएको छ।
इभर्टनसँग शनिबार भएको खेलमा ११औँ मिनेटमा लिभरपुलका मुख्य डिफेन्डर भर्जिल भ्यान डाइक चोटका कारण मैदानबाट बाहिरिएका थिए। पिकफोर्डको फोउल खराब देखिए पनि अफसाइड पोजिसनमा रहेका कारण उनी तत्काल पनि कुनै कारबाहीमा परेका थिएनन्।
त्यसविरुद्ध गरेको पुनः जाँचको मागपछि फुटबल एशोसियसनले रेफ्रिहरुको सरसल्लाहमा कारबाही गर्नु नपर्ने जनाएको हो। अफसाइडको अवस्थामा भएको फोउलमा पेनाल्टी दिन नमिल्ने भए पनि पिकफोर्डलाई रेड कार्ड दिनुपर्ने तर्क त्यतिबेलै उठेका थिए। तर भिडियो असिस्टेन्ट रेफ्रिले समेत त्यसमा कुनै निर्णय गरेनन्।
चोटका भ्यान डाइकको लिगामेन्टमा समस्या देखिएको छ। जसका कारण उनी कम्तिमा ६ महिना मैदानबाहिर हुने देखिन्छ।
इभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेल २–२ को बराबरीमा सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।