काठमाडौं–सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट खसी बोकाको बिक्री सुरु गरेको छ।
कम्पनीका अनुसार जिउँदो खसी प्रतिकिलो ५ सय ५० रुपैयाँ पर्ने गरी मूल्य तोकिएको छ। यो औसत बजार मूल्यभन्दा प्रतिकिलो ५० देखि १ सय रुपैयाँसम्म सस्तो हो। खसी बोकाको औसत खरिद मूल्य, ढुवानी तथा दानामा लाग्ने लागत समेत गरेर प्रतिकिलो ५ सय ६० रुपैयाँ पर्न जाने कम्पनीको भनाइ छ। तर यसरी तय गरिएको मूल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने निर्णय कम्पनीले यसअघि नै गरिसकेकाले बिक्री मूल्य ५ सय ५० रुपैयाँ तोकिएको हो।
कम्पनीले हेटौडा र तुलसीपुरबाट खरिद गरेका खसीबोका आईतबार काठमाडौंमा आईपुगेपछि सोमबारबाट बिक्री वितरण गरिने भएको हो। सहुलियत मूल्यका खसीबोका खाद्य व्यवस्था कम्पनीको थापाथलीस्थित केन्द्रीय कार्यालय परिसरबाट बेचिनेछ। कम्पनीले यसवर्ष १ हजारको संख्यामा खसीबोका बिक्री गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।