काठमाडौं– टोटेनहमले इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टहामसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। आइतबार राति भएको खेलमा तीन गोलको अग्रता जोगाउन नसकदा टोटेनहम बराबरीमा रोकिएको हो।
टोटेनहमका लागि ह्यारी केनले दुई गोल गर्दा सन हेयुङ मिनले एक गोल गरे। वेष्टहामका लागि फाबियन बालबुएना र म्यानुएल लान्जिनीले गोल गरे। एक गोल भने टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि वेष्टहामले उपाहार स्वरुप पाएको थियो।
खेलको पहिलो मिनेटमा नै सनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए। आठौं मिनेटमा र १६ औं मिनेटमा ह्यारी केनले गोल गरेपछि टोटेनहम पहिलो हाफमै ३–० गोलको अग्रतामा पुग्यो। तर टोटेनहम खेलको अन्तिम आठ मिनेट सम्हालिन नसक्दा तीन गोल खान पुग्यो। खेलको ८२ औं मिनेटमा फाबियनले गोल गर्दै वेष्टहामलाई ३–१ गोलको स्थितिमा ल्याए। ८५ औं मिनेटमा सान्चेजले आत्मघाती गोल गरेपछि वेष्टहाम ३–२ को स्थितिमा पुग्यो। खेलको अतिरिक्त समयमा लान्जिनीले गोल गर्दै वेष्टहामलाई ३–३ गोलको बराबरी दिलाए।
आइतबार राति नै भएका अन्य खेलमा लेस्टर सिटी एस्टन भिल्लासँग १–० गोलले पराजित हुँदा क्रिस्टल प्यालेस र ब्राइटन तथा सेफिल्ड युनाइटेड र फुलहामले समान १–१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।