काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताएका छन्। नवनियुक्त सञ्चारमन्त्री गुरुङले कोरोना भाइरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल गरी अघि बढ्ने बताएका हुन्।
नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आइतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा भएको सामूहिक भेटमा उनले महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै सञ्चार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे।
‘सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने विश्वास लिएको छु।’
महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाइरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी सञ्चार क्षेत्रको पुनर्संरचना गर्न ढिलाई नगर्न ध्यानाकर्षण गराएका थिए।
जवाफमा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री गुरुङसँगको भेटमा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष थापामगर, महासचिव रमेश विष्ट, सचिवद्धय रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।