सांकेतिक तस्बिर
दार्चुला– महाकाली नगरपालिका-४ पुलघाटस्थित सडकबाट करिब डेढ करोड रुपैयाँ भन्दा मूल्य पर्ने यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हुम्ला जिल्ला नाम्खा गाउँपालिका-३ का ३५ वर्षीय दोकार लामा छन्। उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।
लामाले बोकेका झोला शंका लागि जाँच गर्दा १७ किलो ५ सय १० ग्राम अवैध यार्चागुम्बा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। सो परिणामको यार्सागुम्बाको मूल्य करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ पर्ने बताइएको छ। २ वटा झोलाभित्र प्लास्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा सो यार्चागुम्बा फेला पारेको थियो।
बरामद यार्चागुम्बासहित लामालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।